
दल–परिवर्तनको तरंग, एमाले र समाजवादी हुँदै माओवादीमा स्थायित्व खोज्दै स्थानीय नेताहरू
चौतारा —सिन्धुपाल्चोकको स्थानीय राजनीतिमा फेरि एकपटक दल–परिवर्तनको लहर चलेको छ। लामो समयदेखि एमाले र समाजवादीबीच उतारचढावमा रहेका चौताराका केही प्रभावशाली नेताहरू अहिले माओवादी केन्द्रतर्फ आकर्षित भएका छन्।
माओवादीद्धारा आयोजित कार्यक्रममा शिक्षक र राजनीतिक विश्लेषकका रूपमा परिचित इश्वरी श्रेष्ठसहित वडा नं। ९ का पूर्वअध्यक्ष विष्णु लामा औपचारिक रूपमा माओवादी प्रवेश गरेका छन्। उनीहरूसँगै रमेश श्रेष्ठ, सीताराम गिरी, यमबहादुर श्रेष्ठ, मेखबहादुर न्यौपाने, नारायण पहरी, सरोज लामा, पवन श्रेष्ठ, बेलबहादुर श्रेष्ठ, उद्धव ज्योति, बच्चु ज्योति, कृष्ण कुवँर, आशिष पहरी, सोममाया लामा, अशोक लामा, रमेश लामा, गंगा तामाङ, अष्टबहादुर तामाङ र संग्राम श्रेष्ठलगायत दर्जनौँ कार्यकर्ता पनि माओवादीमा लागेका छन्।
श्रेष्ठको राजनीतिक यात्रा जिल्लामा चर्चा हुने खालको छ। एमालेबाट समाजवादी, फेरि एमाले हुँदै अहिले माओवादी प्रवेश गरेका उनी चौताराको श्रीकृष्ण रत्नगंगा विद्यालयमा अध्यक्ष पदमा एमाले उम्मेदवारलाई पराजित गरी निर्वाचित भएका थिए, त्यो बेला माओवादीको समर्थनसहित। यसपटकको प्रवेशलाई धेरैले त्यो राजनीतिक समीकरणको निरन्तरताका रूपमा व्याख्या गरेका छन्।
पूर्वअध्यक्ष विष्णु लामाको यात्रा पनि कम उतारचढावयुक्त छैन। राप्रपाबाट राजनीतिक यात्रा सुरु गरेका उनले एमाले, माले हुँदै माओवादी प्रवेश गरेका थिए, फेरि एमाले फर्किएका र अहिले पुनः माओवादीमै फर्किएका छन्।
स्थानीय विश्लेषकहरूको भनाइमा यी प्रवेशहरूले चौताराको स्थानीय सत्ता समीकरणमा माओवादीलाई थप बलियो बनाउने सम्भावना देखिन्छ। विशेषगरी विद्यालय व्यवस्थापनदेखि नगर राजनीतिसम्म माओवादीको प्रभाव बढ्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा माओवादी नेताहरूले यी प्रवेशलाई “दलप्रतिको बढ्दो विश्वास र जनताकै चाहना”को परिणाम भनेका छन्। यद्यपि, केही स्थानीयले बारम्बारको दल परिवर्तनलाई सुविधाभोगी राजनीतिका संकेतका रूपमा पनि व्याख्या गरेका छन्।