
सिन्धुपाल्चोक । बलेफी गाउँपालिका–५ स्थित अरनिको राजमार्ग खण्डमा दूध संकलन गर्ने मिनि डेलिभरी भ्यान भोटेकोशी नदीमा खस्दा चालक बेपत्ता भएका छन्।
मंगलबार बिहान करिब ५:२० बजे चौतारा साँगाचोकगढी नगरपालिका–१० सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दूध संकलन गर्ने बा १२ च ६५९४ नम्बरको मारुती मिनि भ्यान सुकुटेबाट खाडीचौरतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो।
भ्यानलाई काभ्रे पनौती नगरपालिका–१० पस्थलीका २२/२३ वर्षका नवराज खुलालले चलाइरहेका थिए। उनीमात्र सवार रहेको गाडी करिब ५० मिटर तल नदीमा खसेको जनाइएको छ।
घटनास्थलमा प्रहरी चौकी बलेफीबाट प्रहरी नायब निरीक्षक सुरेश प्रसाद गुप्ताको कमाण्डमा ४ जनाको टोली खटेर खोजतलास कार्य भइरहेको जिल्ला प्रहरीले जनाएको छ।