
तातोपानी नाका खुल्यो
सिन्धुपाल्चोक —जिल्लाको भोटेकोशी गाउँपालिका-२ बाट चीन जोड्ने तातोपानी नाकाको कोदारी(इको)मा भास्सिएको सडकखण्ड मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइएको छ ।
चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख अमित श्रेष्ठकाअनुसार बिहीबार अवरुद्ध कोदारी राजमार्ग (२६किलोमिटर)मा माथिबाट झरेको पहिरो पन्छाउँदै सडक खुलाइएको हो । कोदारी इकोमा सडक भास्सिएर तातोपानी नाका बन्द भएको यो चौथो पटक हो । 'बिहीबार सडक खोल्ने काम भएको छ, बर्खाभर सडक भास्सिने क्रम नरोकिँदा तातोपानी नाकामा समस्या भएको छ, सडक नियमित बनाउन प्रयासरत छौं,' उनले भने ।
इको खण्डमा वर्षात्लगत्तै माथिबाट ढुंगा झर्ने र तल सडक भास्सिने गर्दा राजमार्ग दिनहुँजसो अवरुद्ध हुन थालेको छ । कोदारीमा आइतबार पनि सडक भास्सिएको थियो ।
राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेसँगै भन्सार प्रक्रियाका लागि चीनबाट सामान बोकेर छुटेका दर्जनौँ कन्टेनर लिपिङमा रोकिएका थिए । यसअघि यही स्थान, खकुण्डोल र कोप्लाङको अवरुद्ध हटाएर सडक सहज बनाइएको थियो, जसमा दुई एक्स्काभेटर प्रयोग गरिएको थियो । हाल लार्चामा बेलिब्रिज जोडिएको छ । कोप्लाङ क्षेत्रमा करिब १५ फिट सडक भास्सिएपछि नाका बन्द भएको थियो । मंगलबार रसुवागढीमा भएको भोटेकोसी बाढीको बबण्डरपछि यहाँका सिमाबासी त्यही घटनाको आशंकामा थप त्रसित बनेका छन् । जिल्ला प्रशासन सिन्धुपाल्चोकले तिब्बतमा वर्षात् भइरहेको सूचनासहित सिमासहित अन्य तटीय भेगमा सर्तकताका लागि सूचना गरेको छ ।