१४ वटा परम्परागत व्यापार सीमा नाका खोल्न चीन तयार

काठमाडौं । उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबिच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाका यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको बताउनुभएको छ । चीन भ्रमण सकेर स्वदेश फर्किएसँगै विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
परराष्ट्रमन्त्री श्रेष्ठले रसुवागढी–केरुङ, तातोपानी–झाड्मु, यारी–पुरान तथा नेचुङ–लिची (कोरला) व्यापारिक नाकाहरू यसअगावै सञ्चालनमा आइसकेको उल्लेख गर्नुहुँदै आफूले चीन भ्रमणका क्रममा कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबिच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न गरेको आग्रहलाई चीन पक्षले स्वीकारेको बताउनुभयो ।
उहाँले यसबाट चीन सीमानजिक बसोबास गर्ने नेपालीहरूको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको जानकारी दिनुभयो । उहाँले नेपाल–चीनबिच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरूमा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्र मन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको बताउनुभयो ।
‘‘कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबिच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरू यथाशीघ्र खोल्न चीन पक्ष तयार भएको छ । यसबाट चीन सीमानजिक बसोबास गर्ने नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको दैनिक जीवन तथा व्यापार व्यवसाय सहज हुने अपेक्षा गरेको छु । नेपाल–चीनबिच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरूमा नियमित रूपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्र मन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएका छन् ।
सन् २०१२ मा नेपाल–चीनबिच हस्ताक्षर भएको सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई चीनको तिब्बत स्वशासित क्षेत्रमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँहरूमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको पनि उल्लेख गर्नुभयो ।
‘‘नेपालको महत्त्वपूर्ण तथा विश्वसनीय विकास साझेदारको रूपमा रहेको मित्र राष्ट्र चीनले नेपाललाई थप गुणात्मक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल–चीनबिच भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयन गरी तथा विद्यमान संयन्त्रहरूको नियमित बैठक बसी आपसी सहयोगलाई थप गतिशील बनाउन दुवै पक्ष सहमत भएका छन् ।,’’ उहाँले भन्नुभयो, ‘‘सन् २०१२ मा नेपाल–चीनबिच हस्ताक्षर भएको सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई चीनको तिब्बत स्वशासित क्षेत्रमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँहरूमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको छ ।’’
उपप्रधानमन्त्री श्रेष्ठले भ्रमणले नेपाल र चीनबिचको आपसी सद्भाव, सम्मान र विश्वासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो । घाँस, तरकारी तथा फलफूलहरू लगायतका नेपाली वस्तुहरूको निर्यातमा सहजीकरण गर्न चिनियाँ पक्षलाई अनुरोध गरेको बताउनुभयो ।
नेपाल–चीन सीमाका केही क्षेत्रमा मल्टी फंग्सनल ल्याब स्थापना गर्न अनुरोध गरेको कुरामा चिनियाँ पक्ष सकारात्मक रहेको बताउनुभयो । नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउनका लागि आवश्यक पुँजी र प्रविधि उपलब्ध गराउन चिनियाँ पक्ष सकारात्मक रहेको पनि उल्लेख गर्नुभयो । नेपालको काठमाडौँ र पोखरा तथा चीनका विभिन्न सहरबिच थप उडानहरू सञ्चालनमा ल्याउन दुवै पक्ष सहमत भएको बताउनुभयो । लगानी सम्मेलनमा सरकारी तथा निजी क्षेत्रका चिनियाँ लगानीकर्ताहरूको बढीभन्दा बढी सहभागिताका लागि अनुरोध गरेको पनि बताउनुभयो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस